सुकुम्बासी बस्तीमा डोजर चल्यो, बालबालिकाको बिचल्ली

झापाको कमल गाउँपालिका–५ सुकुम्बासी बस्तीकी सावित्रा रेग्मी (८३)लाई बिहीबार रातभर हावासहित पानी पर्दा घर भत्काउँछ कि भन्ने चिन्ता थियो । जसोतसो घर बच्यो । हावाहुरीले टिन पनि उडाएन । तर, एकाबिहानै सशस्त्र प्रहरीको धावाले सावित्रामाथि बज्रपात आइलाग्यो । ओछ्यानमै हुँदा आइपुगेका सशस्त्र प्रहरी धमाधम घर भत्काउन थाले । एकछिनमै सिंगो सुकुम्बासी बस्ती सोत्तर भयो ।

सावित्रा त बाहिर निस्किइन्, तर लुगाफाटा र अन्नपात घरसँगै पुरियो । सशस्त्र प्रहरी बलको तालिम शिक्षालयको जग्गामा १६ वर्षदेखि बस्दै आएकी रेग्मीसहित ४२ घर शुक्रबार बिहानै भत्काइए । ‘हामी यहाँ १६ वर्षदेखि बस्दै आएका छौँ । सुरुमा माओवादीको जगजगी भएका वेला सशस्त्रले नै हामीलाई यहाँ ल्याएर बसायो । अहिले उसैले बास खोस्यो,’ गहभरि आँसु पार्दै सावित्राले पीडा पोखिन् ।

शुक्रबार बिहानसम्मै सिमसिम पानी परिरहेको थियो । भएका लत्ताकपडा घरभित्रै पुरिए, निकाल्न भएकाहरूका पनि भिजे । बिहान उनीहरू भत्काइएका घरको खर बालेर जाडो भगाउँदै थिए । ‘सर्वस्व भयो । के खाने, कहाँ बस्ने ?’ ७४ वर्षीय गणेशबहादुर भण्डारी भन्दै थिए, ‘कतै जग्गा नभएका हामी सुकुम्बासीको बिचल्ली पारियो । निर्धाको पक्षमा बोलिदिनेसम्म कोही भएनन् ।’

घर–टहरा भत्काउन तीन सयभन्दा बढी सशस्त्र प्रहरी पुगेका थिए । त्यसक्रममा आफूहरूमाथि हातपातसमेत गरिएको सुकुम्बासीहरूको भनाइ छ । भिडियो खिच्दै गर्दा कुटपिट गरेको र मोबाइल फोन खोसेको स्थानीयको आरोप छ । तर, सशस्त्र प्रहरीका एसपी सुधीरजंग थापाले खण्डन गरे । ‘म पनि दुई घन्टासम्म त्यहीँ थिए । कसैलाई हातपात गरेका छैनौँ,’ उनले भने, ‘कसैको मोबाइल पनि ल्याएका छैनौँ ।’ पीडितहरूले घटनालाई अतिरंजित बनाएको एसपी थापाको आरोप छ । तर, प्रमुख जिल्ला अधिकारी उदय रानाले भने हातपात भएको स्वीकार गरे । ‘सामान्य झडप भएको हो । केही घाइते भएका छन् । उनीहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन्,’ प्रजिअ रानाले भने ।

०६० सालतिर मुलुकमा सशस्त्र युद्ध उत्कर्षमा थियो । सशस्त्र प्रहरी बल रतुवामाई वृक्षरोपण आयोजनाको जग्गा भोगाधिकार लिएर त्यहाँ बस्न थाल्यो । त्यहाँ सशस्त्रले पाथीभरा गण नै स्थापना गरेको थियो । माओवादी सेनाको आक्रमणको डरले उनीहरूले स्थानीयलाई ढाल बनाउन खोजे र सुकुम्बासीहरू भेला पारे । अहिले पीडित बनाइएकाहरूका अनुसार जंगलले घेरिएको क्षेत्रमा आफ्नो सुरक्षाका लागि सशस्त्रले त्यहाँ ल्याएर राखेको थियो । ‘हामीलाई यहाँ आएर बस्न भनियो । घरबार नभएका हामी यहाँ आयौँ, घर बनाएर बस्यौँ । चौरमै खेती गर्न थाल्यौँ,’ नरमाया चौलागाईंले विगत सम्झिइन् ‘दुई वर्षअघिसम्म त वर्षको आठ हजार रुपैयाँ ठेक्का पनि लिने गरेको थियो ।’

सशस्त्रले घर–टहरा भत्काएर सोत्तर बनाएपछि सबैभन्दा बढी समस्या बालबालिका, वृद्धवृद्धा, सुत्केरी र गर्भवतीलाई परेको छ । वार्षिक परीक्षाको मुखैमा घर भत्काइएपछि बालबालिकाको बिचल्ली भएको छ । उनीहरूले आफूले पढ्ने पुस्तकसमेत निकाल्न नपाएको गुनासो गरे । कक्षा ७ मा पढ्दै गरेकी बबिता भण्डारीले भनिन्, ‘परीक्षा आउन लागेको छ । घर भत्काइदिए, किताब पुरिदिए । अब कसरी परीक्षा दिने होला ? हाम्रो भविष्यमाथि खेलवाड गरियो ।’ बस्तीमा दुई वर्षकी सुत्केरी बस्थिन्, तारा राई । घर भत्काइएपछि दुई महिनाको बच्चा बोकेर पानीमा रुझ्न उनी बाध्य भएकी छिन् । ‘घर छैन । दुई महिनाको नानी छ । पानी पनि पर्दै छ,’ तारा राईले भनिन्, ‘अब कसरी रात कटाउने होला ?’

निर्वाचनका वेला भोट माग्न सुकुम्बासी बस्तीमा सबै दलका नेता पुग्थे । सबैका वाचा हुन्थे, नम्बरी जग्गा र घर दिलाइदिन्छौँ । तर, आश्वासन पूरा भएनन् । ‘आश्वासन दिएर धेरैले भोट मागे । कसैले पूरा गरेनन्,’ स्थानीय धनमाया रोक्काको दुखेसो छ, ‘हामीलाई संरक्षण गर्नुपर्नेमा उल्टै नेताहरूले घर भत्काउन प्रहरी पठाए ।’

Advertisement