भ्रष्टाचारीलाई कारबाही गरे स्थानीय तह नै खाली हुन्छ : गृहमन्त्री बादल

पर्वत – गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले स्थानीय तहमा भ्रष्टाचार बढिरहेको भन्दै त्यसबारे चिन्ता व्यक्त गरेका छन्।

जिल्ला प्रशासन कार्यालय पर्वतको नयाँ भवन उद्घाटनका लागि पर्वत आएका गृहमन्त्री थापासँग नेकपा पर्वतले राखेको नेता तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले अख्तियारलाई उद्धृत गर्दै स्थानीय तहमा भ्रष्टाचार बढेको बताएका हुन्। ‘अख्तियारबाट थाहा पाएको कुरा अनुसार सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भइरहेको छ’, उनले भने, ‘अख्तियारले भनेको छ, स्थानीय तहका भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने तहहरू नै खाली हुने अवस्था छ।’

स्थानीय तहका जनप्रतिनिधिलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गर्नुले स्थानीय तहमा भइरहेको भ्रष्टाचारको अवस्था देखाएको गृहमन्त्री थापाको भनाई छ। झन्डै दुईतिहाइ बहुमतको सरकार केन्द्रमा रहनु र अधिकांश स्थानीय तहमा नेकपाकै जनप्रतिनिधिको वर्चस्व रहेका कारण नेकपाले नै भ्रष्टाचार रोक्ने गरी काम गर्नुपर्ने उनले बताए।

आफूले गर्दै आएको क्रान्तिको अन्तिम लक्ष्य समाजवाद नै भएको बताउँदै उनले अहिले पनि पार्टीले समाजवादको लक्ष्य राखेर त्यसैको लागि आधार तयार गर्ने काम गरिरहेको भनाई राखे। देश र पार्टी दुवै समाजवादको नयाँ चरणमा प्रवेश गरेको भए पनि सामन्तवादका कतिपय अवशेष बाँकी रहेका कारण तिनीहरूलाई पन्छाउने काम गर्नुपर्ने गृहमन्त्री थापाको भनाई छ। ‘पार्टीको रणनीति भनेको समाजवाद नै हो।

अहिले रणनीतिका रूपमा विशेष योजना भनिएको छ। त्यो हाम्रो एक प्रकारको क्रान्ति नै हो’ उनले भने, ‘समाजवादमा जानको लागि हिजो पनि शत्रु थिए। अहिले पनि छन् तर फरक यत्ति हो की शत्रुको स्वरूप परिवर्तन भएको छ।’ देशले समाजवादी अर्थतन्त्र खोजिरहे पनि प्रतिगामी तत्त्वहरूका रूपमा दलकै नेता तथा कार्यकर्ता, तस्करहरू, भूमाफियालगायत सक्रिय रहेको गृहमन्त्री थापाले उल्लेख गरे।

Advertisement