कार्यकारी राष्ट्रपति बनाउन संविधान संशोधन गरौं : शेरबहादुर तामाङ

काठमाडौँ — सत्तारुढ नेकपाभित्र संविधान संशोधनको विषयलाई लिएर वादविवाद चलिरहेका बेला सांसद शेरबहादुर तामाङले कार्यकारी राष्ट्रपतीय प्रणाली अपनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सत्तारुढ नेकपाका सांसद तामाङले नेपालको शासकीय स्वरुप महंगो भएको भन्दै जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्थामा जानुपर्ने धारणा राखेका हुन्। नेकपाले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन कार्यदल गठन गरेर विवाद भइरहेको बेला पूर्वमन्त्रीसमेत रहेका तामाङको उक्त भनाइ आएको हो।

राज्यले धेरै ठूलो धनराशी खर्च गरेर पाल्नुपर्ने राज्य संरचनालाई घटाउनुपर्ने उनको भनाइ थियो। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्ने गरी संविधान संशोधन गरिनुपर्ने आवश्यकता रहेको तर्क गरेका हुन्।

संविधान बनाउने क्रममा शासकीय स्वरुपका सम्बन्धमा राजनीतिक दलहरू चुकेको भन्दै उनले अब राष्ट्रपतीय शासन प्रणालीका बारेमा बहस गर्नुपर्ने बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्नेमा सबैको ध्यानाकर्षण गराउँदै त्यसका लागि गर्नुपर्ने तयारी र सुधारको फेहरिस्त पनि प्रस्तुत गरेका थिए।

Advertisement