अदालत बाट सफाई पाएपछि ‘महरा सर जिन्दावाद’ भन्दै नारा लाग्यो

पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाण्डू जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष रहेको ठहर गरेको छ।

लामो समय चलेको बहस आइतवार सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमवार फैसला सुनाएको हो। अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने, “अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ।”

दशैँको ठिक अगाडि संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीलाई डेरामा गएर बलात्कार प्रयास गरेको अभियोग लागेपछि पुर्पक्षका लागि थुनामा राखिएका महरा अदालतको फैसला गरेपछि रिहा हुनेछन्।

जिल्ला अदालत काठमाडौँले जब निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा फैसला सुनायो तब एकाएक बबरमहलस्थित अदालत परिसर महराका समर्थकको उल्लासमा बदलियो । कारागारमा रहेका महराको विषयमा अन्तिम फैसला आउने भएपछि सोमबार बिहान १० बजेदेखि नै अदालत परिसरमा समर्थको भीड देखिन्थ्यो । यसो त सञ्चारकर्मी र प्रहरीको पनि उस्तै भीड थियो ।

अदालतबाट सफाइ पाएपछि महरालाई कडा सुरक्षाको बीच ल्याइएकै गाडीमा डिल्लीबजार कारागार लगियो । डिल्लीबजार कारागारमा एक घण्टा महरा व्यस्त भए । कारागारभित्रै महरालाई सजाय भुक्तानी गरिरहेका पूर्वआईजीपी रमेशचन्द ठकुरी र सशस्त्र प्रहरीका पूर्वडीआईजी रन्जन कोइरालाले खादा ओढाएर बिदाइ गरे । विदाईको क्रममा उनीहरुले एक अर्कालाई अंगालो मारेको कारागार स्रोतले बताएको छ ।

कार्यकर्ता तथा शुभच्छेकुले फूलमाला र खादा ओढाउँदै गर्दा महरा बा१८च ४०० नम्बरको निजी गाडी चढेर सवा ४ बजेतिर निवास खुमलटारतर्फ लागेका थिए । त्यहि क्रममा ‘महरा जिन्दावाद र एमसीसी मुर्दावाद’ को नारा समेत लागेको थियो ।

Advertisement