सुर्य थापालाई शेर्पालीको चेतावनी : नैतिकता छ भने थुतुनो सम्हालेर बोल

काठमाडौं – जनयुद्वको विरोधमा आफ्नो भनाई राखेर चर्चामा आएका सुर्य थापालाई युवा संघका नेता सुवोध शेर्पालीले आफ्नो बोलीप्रति हेक्का राख्न चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका थापाले तत्कालिन माओवादीले गरेको सशस्त्र युद्व जनयुद्व नभएको र त्यो आफैं विसर्जन भएको बताएपछि शेर्पालीले हेक्का राखेर बाेल्न चेतावनी दिएका हुन् ।

पूर्व वाईसियल नेपालका महासचिवसमेत रहेका नेता शेर्पालीले सामाजिक सञ्जालमार्फत थापालाई हेक्का राखेर बोल्न चेतावनी दिएका हुन् । ‘नैतिकता छ भने बसौं विधि बिधानमा नै रहेर बहस गरौं । नत्र थुतुनो सम्हाल बढी सोचेर बेहोस हौला ? समय सधैं तिम्रो वरिपरि होला भन्ने भ्रम नपाल किनकि तिमी आफै केही नि हैनौ ।’ शेर्पालीले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘जसको आडमा तिमी बोलिरहेका छौ त्यो कति दिनलाई हो हेक्का राख ? आगे तिम्रो मर्जी…?’

शेर्पालीले सित्तैमा पाएको पदमा बसेर अरुको बलिदानलाई अबमुल्यन नगर्न पनि चेतावनी दिएका छन् । ‘जनयुद्ध ठिक थियो त्यसका रणनीतिक र कार्यनीतिक योजना लक्ष्य सहि थिए र त आज तिमी आफुले अलिकति पसिनासमेत नबगाएको लगानी नगरेको गणतन्त्रको सल्लाहकार पद प्राप्त गरेका छौ ।’ शेर्पालीले अगाडि भनेका छन्, ‘यस्तो बोल्न तिमीलाई लाज लाग्दैन ? हामी रगत र पसिना दुबै बगायौ र यो ब्यबस्था निर्माण गर्याैं ।’

शेर्पालीले पार्टी एकताको भाव र मर्म स्वीकार गर्न नसके पार्टीबाट राजीनामा दिन पनि सुर्यलाई सुझाव दिएका छन् ।

न्यूज २४ नामका टेलिभिजनमार्फत जनयुद्व दिवसको बारे आफ्नो भनाई राख्दै सुर्य थापाले तत्कालिन माओवादीले गरेको युद्व जनयुद्व नै नभएको प्रतिक्रिया दिएका थिए । उनले भनेका छन्, ‘जनयुद्व त्यो खासमा थिएन् । जनयुद्व नभएको हुनाले नै त्यसको विसर्जन भएको हो र छाडिएको हो । हामीले पार्टी एकता जनयुद्वका सबै भारी बोकेर जनयुद्वको कार्यदिशा स्वीकार गरेर जनयुद्वको महिमागान र दिवस मनाउनका लागि गरेको होइन् । रुपान्तरित अवस्थामा शान्ति प्रक्रियामा आईसकेपछि कार्यदिशाका हिसाबले शब्दमा स्वीकार नगरिएपनि सारतत्वमा तत्कालिन एमालेको कार्यदिशामा आईसकेपछि एकता भएको हो ।’

Advertisement