दुर्लभ मुटु र मष्तिष्क भएका प्रचण्ड

कान्तिपुरको परिसंवादमा सम्पादकज्युले मार्मिक प्रश्न सोधेर सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दुर्लभ मुटुको परीक्षण गरे । प्रश्न आफैमा जटिल थियो, छोरा प्रकाश दाहाल र जेठी छोरीको मृत्यु, पत्नीको गम्भीर स्वास्थ्य अवस्था आदि पारीवारिक अप्ठ्याराका बाबजुद पनि राजनीतिमा सक्रिय देखिनुहुन्छ ? यी सबै कसरी म्यानेज गर्नुहुन्छ ? जवाफ असाधरण थियो— दुर्लभ मुटु भएका प्रचण्डको ।

उहाँले जवाफमा प्रत्येक दुर्घटना या घटनाले आफुलाई अझ बढी राष्ट्र, जनता र आफ्नो उद्देश्यप्रति समर्पित हुनुपर्छ भन्नेतिर दिमाग जाने गरेको बताउनुभयो । ‘सामान्य मानिसहरुमा चाहिँ यस्ता घटनापछि अलि विक्षिप्त हुने, जिम्मेदारीबाट अलि पछि हट्ने खालका प्रवृत्तिहरु पनि देखिन्छन् । तर मभित्र त्यस्तो आउने गरेन । छोरोको निधन, बढो कठोर थियो । तर मैले त्यसै दिनबाट संकल्प गरेँ कि मैले अब नेपालका सबै युवा युवतीमा प्रकाश देख्नुपर्छ र तीनका निम्ति मैले अझ दश गुणा बढी शक्तिका साथ काम गर्नुपर्छ । मैले त्यसै गर्ने गरेको छु । मेरो छोरीको मृत्युपछि पनि मैले त्यही गरेँ ।’ उहाँले बढो सहासका साथ भन्नुभयो ।

प्रचण्डकी श्रीमती सीता दाहाल यतिबेला निकै पीडादायी जिन्दगी बाँचिरहेकी छन् । उपचारको सम्पूर्ण प्रयास गरिएको छ, । तैपनि उनलाई संचो भैराखेको छैन । यस्तो अवस्थामा झन बढी देश र जनताका लागि काम गर्ने संकल्प सामान्य मुटु भएकाले गर्न सक्ने विषय अवश्य होइन । यो प्रचण्डको बेजोडको संकल्प हो ।

‘मेरो श्रीमतीको स्थिति सबैलाई थाहा छ । उनको झन्डै झन्डै असाध्य खालको रोग रहेछ त्यो । संचो भैराखेको छैन । एउटा पतिको हैसियतले बचाउने कोशिस लगातार गरेको छु । जिन्दगीभर उनले मलाई सहयोग गरिन् । विरामी भएको बेलामा मैले पनि उनको निम्ति सक्नेजति सबै गर्नुपर्छ भनेर म लागि राखेको पनि छु । झण्डै झण्डै कुनै पनि दिन केही पनि हुन सक्छ भन्ने मानसिकतामा आफुलाई प्रिपियर गर्ने र अझ बढी राष्ट्र र जनताका निम्ति सक्रिय भएर मैले जिन्दगी बिताउनुपर्छ भन्ने मानसिकता बनाएको छु । सायद यो मेरो अलिकता स्टिकमै केही चिज हो कि भनेजस्तो पनि मैले फिल गर्छु ।’ यो मुटु भएकाहरुको कुरा हो । यो दुर्लभ मुटु हुनेहरुको कुरा हो ।

जनयुद्धको सुप्रिम कमाण्डार भएका बेला प्रचण्डको एउटा दार्शनिक भनाइ निकै चर्चामा थियो– हामी रुँदारुँदै हाँस्नु परेको छ, र हाँस्दाहाँस्दै रुनु परेको छ । उहाँ रुँदारुँदै हाँस्न सक्ने, हाँस्दा हाँस्दै रुँन सक्ने डाइनामिक लिडर । परिस्थिति अनुकुल आफुलालई र आफु अनुकुल परिस्थितिलाई मुभ गर्न सक्ने लिडर । दुर्लभ मुटुले बनेका दुरगामी लिडर ।

प्रचण्डमा तीब्रता छ । गतिशीलता छ । क्रम भंगता र छलाङ छ । खासमा प्रचण्डसँग साहसी मुटु छ । एक युगमा एक पटक जन्मने दुर्लम मुटु । उहाँमा आफ्नो सोचाइको तिब्रता अनुसार परिस्थितिमै उथलपुथल ल्याउन सक्ने क्षमता छ । उहाँसँग मुटु मात्रै छैन, मष्तिष्क पनि छ । त्यो पनि दुर्लभ मष्तिष्क । असाधरण मष्तिष्क । एक युगमा एक पटक जन्मने मष्तिष्क । जब प्रचण्डको मष्तिष्क र मुटुमा उथलपुथल आउँछ, देशको राजनीतिक वृत्तमा आउँछ ७ रेक्टरको कम्पन । मिडियाको हेडलाइन बन्छ । बहसको केन्द्र बन्छ ।

केही समयअगाडि एक कार्यक्रममा दुर्लभ मुटुभएका प्रचण्डले जनयुद्धका समयमा मारिएकामध्ये पाँच हजारको जिम्मेवारी लिन आफु तयार रहेका बताउनुभएको थियो । उहाँको त्यो सहासपछि देश सञ्चारका सम्पादक युवराज घिमिरेज्युले दुर्लभ मुटु भएको प्रचण्ड भनेर लेख्नुभयो । उहाँको त्यो अभिव्यक्तिको कम्पन केहीदिन प्रभावकारी रुपमै रह्यो । जनयुद्धको नेतृत्व प्रचण्डले मात्रै गरेका होइनन्, मोटो मशालदेखिकै तयारी हेर्दा किरण, सीपी गजुरेल, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादललगाएतका नेताहरु पनि जनयुद्धको उत्तिकै जिम्मेवार नेताहरु थिए । तर, अरु कुनै नेतामा त्यस्तो मुटु भेटिएन, जसले जनयुद्धका बेलामा मारिएकाहरुको जिम्मा लिने हिम्मत गर्न सकोस् ।

प्रचण्डले बारम्बार भन्दै पनि आउनुभएको छ, जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा म लिन्छु । जेल जान परे पनि मै जान्छु । माओवादीका कोही नेता कार्यकतामाथि त्यो बेलाका मुद्दा नलाइयोस् । चानचुने मुटु भएकाले यस्तो भन्ने हिम्मत सायदै राख्न सक्छ । सक्छन् भने त्यो प्रचण्डले नै सक्छन् ।

२०४६ सालमा मोटो मशालका महामन्त्री बनेका प्रचण्डले दुर्लभ मुटु भएकै कारण संसदीय व्यवस्थामा भाग लिने निर्णय गरेका थिए । त्यतिबेला प्रचण्ड ३६ वर्षका युवा थिए । एकता केन्द्र संसदमा तेस्रो पार्टी बनेको थियो, जसको नेतृत्व प्रचण्डले गर्नुभएको थियो । त्यसको करिब छ वर्ष पछि उहाँकै नेतृत्वमा जनयुद्ध घोषणा भयो । १० वर्ष चलेको जनयुद्धले देशमा उलटपुलट, उथलपुथल ल्यायो । त्यसको बहुआयामिक प्रभावसँग प्रचण्डको मुटु र मष्तिष्कलाई अलग गर्न सकिंंदैन ।

जनयुद्ध यस्तो समयमा सुरु भएको थियो कि, संसारबाट कम्युनिष्टहरु ओरालो यात्रामा थिए । अमेरिका विश्वमा एकल सुपर पावरका रुपमा खडा थियो । विश्वको सुपर पावर अमेरिकाले आतंककारीको सूचीमा राखेका थिए । छिमेकी देश विशाल भारतमा पनि कम्युनिष्ठ विरोधी सत्ता थियो । यस्तो जटिल अवस्थामा सगरमाथाको देशबाट प्रचण्डको नेतृत्वमा जनमुक्ति सेना बनाएर कम्युनिष्ट पार्टीको झण्डा फहराइएको थियो । नेपालको सिंगो इतिहासमा यो सबैभन्दा उथलपुथलकारी राजनीतिक परिवर्तनका लागि गरिएको परिघटना थियो । यो सामान्य मुटु भएकाले कल्पना गर्न सकिने विषय थिएन । जनयुद्धको प्रभाव दश रेक्टरको भूकम्प जस्तै थियो । यसैको धक्काले २४० वर्षे पुरानो राजतन्त्रको जरो उखलियो । यस कारण पनि यो असाधारण घटना थियो कि पहिलो पटक जनता आफैले आफ्नो इतिहास लेखिका थिए, त्यो पनि रगतले ।

अक्सर मानिसहरु आधा मन लगाएर काम गर्छन । स्वभाविक रुपमा सफलता पनि आधा नै हुन्छ । तर, आधा मनले काम गरेर सपनाको सगरमाथा चुम्न सकिंदैन । ‘राष्ट्र र जनताका लागि काम गर्नुपर्छ भनेर सुरुदेखि म राजनीतिमा सम्पूर्ण रुपमा लागे ।’ प्रचण्डको यो भनाइ मनन योग्य छ । उहाँ पुरै मनले राजनीतिमा लाग्नुभएको थियो भन्ने कुरा इतिहासका घटनाक्रमले नै पुष्टि गरेको छ । यसो भन्दै गर्दा, प्रचण्डको डाइनामिक मुटु र मष्तिष्कप्रति लोभ लाग्छ ।

देशको राजनीति र विकासले भरपर्दो बाटोमा हिड्न अझै बाँकी नै देख्छु । भ्रष्टाचार र अनियमितताले झन डरलाग्दो रुप धारण गर्दै गरेको देख्छु । स्थानीय जनप्रतिनिधिहरुले जताततै ब्रह्मलुट गरिरहेको समाचार पढ्दा आङमा रिजिङ्ग हुन्छ, शरिरमा काँडा उम्रिन्छन् । सरकारका प्रमुखहरु नीति बनाएरै देश लुटिरहेका छन् भन्ने समाचार कति पढ्नु ? राष्ट्रियताको सवाल त झन डरलाग्दो छ । हजारौंको बलिदानबाट, लाखौंको संघर्षबाट देशले प्राप्त गरेका उपलब्धीहरु गुम्ने त होइन भन्ने कुराले पनि दुर्लभ मुटुहरुको माया अझ बढी लाग्छ । यी सबै कुरा एक ठाउँमा जम्मा पारेर हेर्दा, चिन्तन मनन गर्दा कहिले कहीँ प्रचण्डको दुर्लभ मुटु देखेर डर पनि लाग्छ । कतै यो मुटुको गति रोकियो भने ? सायद यो मेरो डर अनर्थ छैन । यस्ता मुटु र मष्तिष्कहरु बेहिसाव भैदिएका भए सायद मैले डराइरहनुपर्ने थिएन । मेरै मुटु पनि प्रचण्डकै जस्तो दुर्लभ हुन सकेको भए सायद डराउनुपर्ने थिएन होला ।

हामी नौ जवान भनौदाहरु आफ्नै जीवनको अभिभारा बोक्न नसकेर सडक र गल्लिहरुमा बरालिंदै छौं । तर, ६५ नाघेका प्रचण्डमा शारिरिक र मानसिक दुवै पक्षबाट देशको अभिभारा बोक्न सक्ने होसपूर्ण युवा जोश छ । जीवनको उत्तरार्धमा पनि राष्ट्र र जनताका लागि दश गुणा सक्रियता बढाउने संकल्प गर्ने सक्ने मुटु छ । देश आफै बन्दैन, बनाउनुपर्छ । देश बनाउन यस्ता मुटुहरु चाहिन्छन् । यसका लागि हरेक म आफै जाग्नुपर्छ । यस्ता मुटुहरुको दुर्लभता डरलाग्दो कुरा हो ।

देश र जनताका लागि सक्रियतापूर्वक काम गरेर सम्पूर्ण जीवन बिताउने संकल्प गर्ने मुटुहरुको संख्या बढ्दै जानुपर्छ । सत्तारुढ नेकपाले देश र जनताका लागि बेहिसाब काम गरोस् । नेपालको राजनीतिले प्रचण्डकाजस्ता थुप्रै मुटुहरु जन्माउन् । ओली सरकारप्रति जनताको आक्रोश कम हुँदै जानेछ भन्ने आशा गरौं । भौतिकवादी, मार्क्सवादी अनि समाजवादी मुटुहरुको दुर्लभवता घट्दै जानेछ भन्ने अपेक्षा गरौं । जर्मनमा जन्मिएका माक्र्स एंगेल्सका मुटु । रुसमा एक सताब्दी अघि जन्मिएका लेनिन स्टालिनका मुटु । चीनियाँ क्रान्तिले जन्माएको माओका मुटु । ल्याटिक अमेरिकन क्रान्तिले जन्माएको चे ग्योभारा र फिडेल क्यास्ट्रोका मुटु । यी संसारकै मानव जातिको प्रगतिका लागि जन्मिएका दुर्लभ मुटु र मस्तिष्कहरु हुन् । यस्ता दुर्लभ मुटुहरु कसरी जन्छन, बेला बखत यस्ता विषयमा पनि बहस गरौं । किनकी फेरि समाजवादी क्रान्तिका लागि यस्तै दुर्लभ मुटु र मस्तिष्कहरु चाहिएको छ । – राजमार्ग डट कम बाट राजकुमार श्रेष्ठको लेख साभार ।

Advertisement