बानेश्वर सडकमा ट्राफिक प्रहरीको सांगीतिक प्रस्तुती

नयाँ बानेश्वरको सडक छेउमा ट्राफिक प्रहरीको एक टोलीले सांगीतिक प्रस्तुती गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धिका लागि सांगीतिक प्रस्तुती देखाएको हो। यस दिन सारङ्गी टोलीले सचेतनासम्वन्धी सांगीतिक प्रस्तुती दिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए। ‘गीत संगीतका माध्यमबाट ट्राफिक नियम सिकाइएको हो, यसबाट सडक प्रयोगकर्तालाई चेतना बढ्ने र व्यवहारिक रुपमा कार्यान्वयन हुने विश्वास छ’ उनले भने।

यस सांगीतिक कार्यक्रममा ट्राफिक प्रहरी र कलाकारहरू हेमराज गन्धर्व, बालाराम गन्धर्व र दिलबहादुर गन्धर्वले ‘मान्नै पर्ने ट्राफिक नियम, नमानेमा जान्छ है जीवन..’ बोलको सचेतनामूलक गीत गाएका थिए। गीतको माध्यमबाट जेब्राक्रसिङ, आकाशेपुल, सडक संकेतको पालना गर्न प्रोत्साहन गरिएको थियो। त्यस्तै मापसे गरी सवारी नहाक्न, तीब्र गति र लापरबाहीका साथ सवारी नचलाउन अनुरोध गरिएको थियो।

ट्राफिक नियम पालना र सडक अनुशासनलाई जीवन पद्दतिसँग जोडेर एक सातासम्म उपत्यकाका मुख्य मुख्य चोकहरूमा यसैगरी सांगीतिक प्रस्तुती सञ्चालन गरिने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

यस अभियानबाट विशेषतः जथाभावी बाटो काट्ने कार्य निरूत्साहित हुनुका साथै ट्राफिक लाइट पालना गरी बाटो काट्न थप सहयोग हुने अपेक्षा गरिएको उनले बताए।

Advertisement