वर्तमान सरकारले समृद्धिका लागि काम गर्न खोजिरहेको छ : वामदेव गौतम

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारलाई जनताको पक्षमा काम गर्न नदिएको आरोप लगाएका छन् ।

कांग्रेसका कारण सरकारले ढुक्क भएर काम गर्न नपाएको उनले बताए । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ४ गोतामकोटमा बुधबार आयोजित कार्यक्रममा गौतमले अर्को चुनावमा पार्टी थप कमजोर हुने डरले कांग्रेसले वर्तमान कम्युनिस्ट सरकारलाई अप्ठेरो पारेको बताए ।

‘वर्तमान सरकारले समृद्धिका लागि काम गर्न खोजिरहेको छ,’ उनले भने, ‘यो सरकारले राम्रो काम गरेमा कांग्रेस थप कमजोर हुने डरले संसद अवरुद्ध गरी देशलाई अनिर्णयको बन्दी बनाइरहेको छ ।’

कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचारको अभियोगमा अनुसन्धान गर्न मिल्दैन भनेर कांग्रेसले संसद अवरोध गर्नुको तुक नभएको उनले बताए । सरकार गठन भएको दुई वर्षमा कांग्रेसले झिना विषयमा संसद अवरुद्ध गरेर विकास विरोधी कृयाकलाप देखाएको उनको अरोप थियो ।

उनले सरकारको प्रसंशा गर्दै जनताको आधारभुत विकासलाई आधार बनाएर काम गरिरहेको दाबी गरे । सरकारले पार्टीको घोषणापत्र अनुसार काम गरिरहेको र वर्तमान सरकारकै पालामा देशले ठुलो फड्को पार्ने उनले बताए ।

Advertisement