विदेशिएकाको घरबार बिगार्नेलाई कडा कानुन बनाउन सांसद पाख्रिनको माग

चरिकोट – दोलखाकी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद शान्तिमाया तामाङ पाख्रिनले विदेशिएका नागरिकको घरबार बिगार्नेलाई कडा कारवाही गर्नु पर्ने बताएकी छन् ।

उनले विदेशमा रहेका नेपालीको श्रीमान वा श्रीमतीलाई लोभ्याएर घर बिगार्ने पुरुष वा महिला जो भए पनि कारबाही गर्नुपर्ने बताइन् । त्यस्ता विरुद्ध कारबाही गर्न कडा कानूनको माग गरेकी छन् ।

प्रतिनिधिसभामा बोल्दै उनले भनिन् ‘सुन्दर भविष्य निर्माण र रंगीन सपना बोकेर नेपाली युवायुवती रोजगारीका निम्ति विदेशिएका हुन्छन् । यो नेपाली युवायुवतीको रहर होइन बाध्यता हो । खाडीको मरुभूमिमा तपतप पसिना चुहाउँदै श्रम गरी तीन चार बर्षपछि घर फर्किँदा आफ्नो साथमा न त श्रीमान अथवा श्रीमती, न त दुख गरी कमाएको पैसा नै हुन्छ । तसर्थ यो नेपाली समाजमा झागिंदो अवस्थामा रहेको विकृति हो ।’

‘श्रीमान विदेश हुँदा अथवा श्रीमती विदेशमा हुँदा घरपरिवार सम्हाल्न नसक्ने महिला र पुरुष वा अर्काको घरपरिवार विगार्ने पुरुष र महिला दुबैलाई कडा भन्दा कडा कानुनको ब्यवस्था गर्नुपर्छ भनी म यस गरिमामय सदनमा सभामुखमार्फत सम्बन्धित निकायसमक्ष माग गर्दछु’ उनले भनिन्।

Advertisement