चीनबाट ल्याइने नेपालीलाई खरिपाटीमा राखे घर छोड्ने स्थानीयको चेतावनी

भक्तपुर – चीनबाट ल्याइने नेपालीलाई १४ दिन राख्न बनाइएको खरिपाटी र पिपलबोट (नगरकोट) क्वारेन्टाइनको बारेमा केन्द्र सरकार र स्थानीय सरकारबीच समन्वयको अभाव देखिएको छ ।

बुधबार चाँगुनारायण नगरपालिकाको सभाकक्षमा भएको अन्तरक्रियाका क्रममा स्थानीय जनप्रतिनिधिहरुले सरकारको निर्णयको विरोध गर्दै बैठक पुस्तिकामा हस्ताक्षर समेत गरेनन् ।

प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारसंग समन्वय नगर्दा आक्रोश र विरोध जारी छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ७, खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनको व्यवस्था गरेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।

नगरप्रमुख सोमप्रसाद मिश्रले आफूलाई दैनिकजसो स्थानीय बासिन्दाले ज्ञापनपत्र बुझाउँदै चीनबाट फर्किएका नेपाली खरिपाटीमा राखे सो अवधिभर घर छोडेर अन्यत्र जान्छौं भन्दै विरोध गर्ने गरेको बताए । उनले ‘सरकारले हाम्रो नगरपालिकालाई डम्पिङ साइट मात्र बनाउने खोजेको जस्तो देखियो, हाम्रो सहमति किन खोजिएन ?’ भन्दै प्रश्न गरे ।

नगरप्रमुख मिश्र जस्तै वडा नम्बर १ का वडाध्यक्ष राजेश खड्का, ६ का सन्ते वाइवा, ७ का ज्ञानबहादुर केसीले पनि स्थानीय सरकारलाई वेवस्था गर्दै केन्द्र सरकारले एकलौटी निर्णय गरेको तर जनतालाई जवाफ आफूहरुले दिन परिरहेको गुनासो गरे ।

यता स्थानीय बासिन्दा प्रकाश लामिछानेले भने सरकारले कोरोना रोग लागेका बिरामी नभएर प्रभावित क्षेत्रका स्वस्थ्य नेपाली ल्याएर राख्ने भनेर चेतना यस क्षेत्र वरपर फैलाउन नसकेको बताए ।

Advertisement