जग्गामा ठगी गरेको समाचार लेख्‍ने पत्रकार पक्राउ

पोखरा – पोखरामा समाचार लेखेकै आधारमा साइबर अपराध मुद्धा लगाएर पत्रकार पक्राउ गरिएको छ । बतास अर्गनाइजेशनका सञ्चालक बीपेन्द्रराज बतासका विरुद्ध समाचार लेखेकै आधारमा ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युजका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरिएको हो ।

साइबर अपराध मुद्धामा पक्राउ गरी काठमाडौँ पठाउने निर्देशन अनुसार पक्राउ गरी पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रबिन्द्रमान गुरुङले जानकारी दिए । ‘सिआइबीले पक्राउ गरेर पठाउनु भन्यो,’ उनले भने, ‘के उजुरी परेको हो हामीलाई थाहा छैन मुद्धा केन्द्रले नै हेर्छ ।’

गिरीले गत चैत २२ गते शुक्रबार ठग बिपेन्द्रराज बतास शिर्षकमा ताण्डब न्युजमा समाचार लेखेका थिए । पोखराका ब्यवसायिहरु जनकराज पहारी र मनोज श्रेष्ठ जिप्रका कास्कीमा जाहेरी दिन पुगेको बेला उनीहरु दुबैलाई उदृत गर्दै गिरीले समाचार लेखेका थिए । प्रहरीकोमा जाहेरी दिएका पहारीले २ करोड २५ लाख र मनोज श्रेष्ठले २ करोड ९८ लाख ठगी गरेको दाबी पेस गरेका छन् ।

गिरीलाई सोमबार जिप्रका कास्कीको टोलीसँगै काठमाडौँ पठाइएको छ । यता नेपाल पत्रकार महासंघ कास्की शाखाले समाचार लेखेकै आधारमा ताण्डव न्यूज साप्ताहिक तथा ताण्डव न्यूज डटकम पोखराका सम्पादक अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको घटनामा नेपाल पत्रकार महासंघ कास्कीले ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि विज्ञप्ति जारी गरी गिरीको पक्राउले पत्रकारले स्वतन्त्रतापूर्वक समाचार लेख्न पाउने संवैधानिक अधिकारमाथि हस्तक्षेप धएको ताएको छ । ‘समाचार लेखेकै आधारमा पटकपटक विद्युतीय कारोबार ऐन प्रयोग गरेर पत्रकार पक्राउ गर्ने काम तत्काल रोक्न महासंघ जोडदार माग गर्दछ । अन्यथा, महासंघ कठोर संघर्षमा उत्रन बाध्य हुनेछ’ महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Advertisement