रंगशाला निर्माणका लागि महायज्ञबाट एकैदिन उठ्यो पाँच करोड रकम

चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सवमा दिन-प्रतिदिन दान गर्ने दाताहरुको सङख्या बढ्दै गएको छ ।

आज बिहिबार मात्रै करिब पाँच करोड आर्थिक संकलन भएको सांसद समेत रहेका संयोजक विजय सुवेदीले जानकारी दिए । उनले महायज्ञमा सहभागी जनाउने र सहयोग गर्नेको उत्साहाजनक सहभागिता रहेको बताए ।

जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैंया सहयोग गरेको छ । यस्तै चितवनको पोल्ट्री क्षेत्रबाट एक करोड सहयोगको घोषणा गरिएको छ । नेपाल पोल्ट्री महासंघका केन्द्रिय अध्यक्ष गुणचन्द्र बिष्टले १ करोड सहयोगको घोषणा गरेका हुन् । उनले महायज्ञस्थलमा पुगेर ५० लाख नगद दिएका छन् भने बाँकी रकम छिट्टै पु¥याउने प्रतिबद्धता जनाएका छन् । यस्तै चितवनका उद्योगी व्यवसायीको तर्फबाट ६३ लाख सहयोग गरिएको छ । माडी नगरपालिकाले ३० लाख रंगशाला निर्माणका लागि सहयोग गरेको छ ।

बुधबार मात्रै एक करोड आर्थिक संकलन भएको थियो । रंगशालामा निर्माणका लागि आर्थिक सहयोग जुटाउने उदेश्यले २६ गतेसम्म धनधान्याचल महोत्सवको आयोजना गरिएको छ ।

Advertisement