इटहरीमा फिल्म स्कुल खोल्दै निर्माता छविराज ओझा

युवा-यूवतीहरुको फिल्म सम्बन्धि विभिन्न विधामा अध्ययन गर्ने चाहनालाई मध्यनजर राख्दै नेपाली फिल्मका बाघ निर्माताको रुपमा चिनिने छविराज ओझाको समुहले ४ वर्ष अगाडि काठमाडौंमा सञ्चालनमा ल्याएको ‘कान्तिपुर फिल्म एकेडेमी’ को पहिलो शाखा इटहरीमा खुल्ने भएको छ । जसको अन्तिम तयारी भैरहेको एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी दिए ।

उनले यही माघ १६ गते सरस्वती पुजाको अवसर पारेर इटहरीमा कान्तिपुर फिल्म एकेडेमीको पहिलो शाखाको औपचारिक रुपमा थालनी हुने बताए । एकेडेमीको इटहरी शाखाले फिल्म मेकिङ, भिडियो एडिटिङ, अभिनय र फोटोग्राफीको कोर्षमा अध्ययन गराउनेछ । सिइओ पुरीले पहिलो चरणमा एक महिने कोर्षहरु तय भएको र त्यसका लागि आवेदन खुलिसकेको बताए ।

निर्माता छविराज ओझाले पुर्वाञ्चलमा फिल्म मेकिङमा इच्छुकलाई काठमाडौंसम्म धाउनु पर्ने बाध्यता हटाउनका लागि इटहरीमै गुणस्तरीय फिल्म मेकिङको अध्ययन गराउन लागिएको बताए । इटहरीको पूर्वलाइनस्थित इलाका प्रहरी कार्यालयको अपोजिटमा कान्तिपुर फिल्म एकेडेमीको शाखा खोलिएको छ । काठमाडौंमा भने यो एकेडेमीको भवन थापागाउँको मन्दिर नजिक छ ।

छोटो फिल्म, डकुमेन्ट्री, टेलिभिजन प्रोडक्सन तथा फोटोग्राफीमा इच्छुकका लागि एकेडेमीको इटहरी शाखाले सञ्चालन गर्न लागेको एक महिने कोर्षले ठूलो सघाउ पुर्‍याउने सिइओ पुरीले विश्वास छ । काठमाडौंबाट दक्ष तथा अनुभवी प्रशिक्षक ल्याएर तालिम दिइने र फागुन १ गतेबाट पहिलो ब्याचको कक्षा संचालन हुने उनले बताए । एउटा कोर्षमा १२ जना मात्र राखिने छ ।

Advertisement