सिद्धबाबालाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा बदर

विराटनगर – सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालत सुनसरीले गरेको आदेश उच्च अदालत विराटनगरले बदर गरिदिएको छ ।

बलात्कारको आरोपमा सिद्धबाबाविरुद्ध उनकै अनुयायीको किटानी जाहेरी दिएपछि मुद्दाको सुनुवाई गर्दै सुनसरी जिल्ला अदातलतले गत पुस १४ गते तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

तर, बिहीबार उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरिदिएको हो । उनलाई थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश भएको रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिएका छन् । १४ पुसमा जिल्ला अदालत सुनसरीका न्यायाधिश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई तीन लाख धरौटीमा मुद्दाको पूर्पक्ष गर्ने आदेश दिएको थियो ।

जिल्लाको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए । सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पूर्पक्ष माग गर्दै अर्को निवेदन दिएका थिए । अदालतको आदेश नआउँदै सिद्धबाबाट भने भारततर्फ फरार भएका छन् ।

Advertisement