कांग्रेसको किचलो झन् चुलियो

काठमाडाैं – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा आन्तरिक द्वन्द्व चुलिँदो छ।

गत मंसिर २६ गते सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक आह्वान गरेदेखि कांग्रेसको किचलो झन् चुलिएको हो। उक्त बैठकमै देउवाले महाधिवेशनको मिति, विभाग थप, भ्रातृसंस्थाको म्याद थप लगायतका प्रस्ताव पेश गरेर पारित गराउने तयारी गरेका थिए।। तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र कांग्रेसमा तेस्रो गुटको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौला पक्षले बैठक नै बहिष्कार गरे। दुई समूहले बैठक बहिष्कार गर्दा पनि पेलेरै निर्णय गर्ने मुठमा देखिएका थिए सभापति देउवा। त्यसपछिका तीनवटा बैठक पनि पौडेल–सिटौला पक्षले बहिष्कार गरे।

त्यसबीचमा पौडेललाई फकाउन देउवा आफैँले कसरत गरे तर सफल भएनन्। पौडेल–सिटौला पक्षले लगातार बैठक बहिष्कार गरेपछि देउवाले पुस ११ गते पेलेरै बहुमतको आधारमा महाधिवेशनको मिति, विभाग थप, भ्रातृसंस्थाको म्याद थप लगायतका प्रस्ताव पेश गरी पास गराए। त्यसयता कांग्रेसको विवाद झन् उत्कर्षमा पुगेको छ। पौडेल–सिटौला पक्षले जिल्ला सभापति भेला गरेर सभापति देउवलाई तीव्र दबाब पनि दिए।

पछिल्लो समय नेपाली कांग्रेसको पार्टी कार्यालयमा नेविसंघको विधान कार्यान्वयन गराउन माग गर्नेहरुको रिले अनसन जारी छ। यो अनसनले महिना दिन छितोलेको छ। नेविसंघका तिनै कार्यकर्तालाई भेट्ने बाहेक नेताहरुको चहलपहल पार्टी कार्यालयमा देखिँदैन। नेताहरुले गुटगत भेटघाट गर्न पार्टी कार्यालय भन्दा बढि निजी निवासलाई प्रयोग गर्न थालेका छन्।

Advertisement