अध्यक्षको दौडमा राजेश हमाल र भूवन केसी, कसले मार्ला बाजी ?

चलचित्र विकास बोर्डको अध्यक्षको दौड रोचक हुने देखिएको छ । अहिले विकास बोर्डको अध्यक्ष पदका लागि आधा दर्जन सिनेमाकर्मी दौडमा छन् । बोर्ड अध्यक्षको पदका लागि यसपटक नेपाली सिनेमाका दुई स्थापित अभिनेता पनि दौडमा छन् । अभिनेताद्धय राजेश हमाल र भूवन केसीले समेत विकास बोर्ड अध्यक्ष बन्नका लागि लबिङ सुरु गरेसँगै बोर्ड अध्यक्षको दौड रोचक हुने देखिएको हो ।

बोर्ड अध्यक्षका लागि निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक केपी पाठक, कलाकार संघका पूर्व अध्यक्ष नवल खड्का, निर्देशक दयाराम दाहाल पनि आकांक्षी देखिएका छन् । विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले विज्ञापन निकालिसकेको छैन । तर, केहिदिनमा सुचना तथा सञ्चार मन्त्रालयले विज्ञापन जारी गर्दैछ । यसैले पनि विकास बोर्डले नयाँ अध्यक्ष पाउन अझै केही समय लाग्ने निश्चित छ ।

बोर्ड अध्यक्षको दौडमा रहेका अभिनेता भूवन केसीले सिनेमाकर्मीको हक हितका लागी आफूले काम गर्न सक्ने अभिव्यक्ति दिएका छन् । उनले भने–‘सिनेमा क्षेत्रका कलाकार, प्राविधिक, निर्देशक, निर्माताको भावना राम्रोसाग बुझेको छु । सिनेमा क्षेत्रका सम्पुर्ण संघसंस्थालाई एकजुट बनाएर अगाडि बढाउन आवश्यक रहेकाले पनि आफुले बोर्ड अध्यक्षमा चासो देखाएको बताए ।’

अभिनेता केसी अहिले पनि सिनेमा क्षेत्रमा उस्तै सक्रिय छन् । सिनेमा निर्माण, अभिनय र निर्देशनमा समेत उनी व्यस्त देखिन्छन् । अभिनेता केसीले अगाडी भने–‘विकास बोर्डको अध्यक्ष पदमा सिनेमा क्षेत्र र सिनेकर्मीको मर्म वुझेको मानिस आउन जरुरी छ । यसमा म नै हुनुपर्छ भन्ने पनि छैन् ।’ बेला बखत विकास बोर्डलाई सूचना तथा संचारमन्त्रालय सम्हालेको पार्टीको कुनै एक कार्यकर्ता भर्ती गर्ने केन्द्रमा रुपमा लिइन्छ । अहिले बोर्डको अध्यक्ष पदका आकांक्षी सबै सिनेकर्मी नेकपा निकट मानिन्छन् ।

महानायक राजेश हमालप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो देखाएको चर्चाले पछिल्लो समय सिनेमा बजार निकै तातिएको छ । सूचना, संचार तथा प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने निर्देशक दयाराम दाहाललाई बोर्ड अध्यक्षको रुपमा ल्याउन लागेको चर्चा भैरहेको छ । उनकै निर्वाचन क्षेत्रका स्थानिय बासिन्दा भएका कारण पनि मन्त्री बास्कोटाले दाहाललाई बोर्ड अध्यक्ष बनाएर चुनावमा लगाएको गुन तिर्ने तयारी गरेको बुझिएको छ ।

Advertisement