महिनावारीबारे सचेतना फैलाउँदै गाउँ गाउँमा पूर्व मिस नेपाल श्रृंखला

सुर्खेत – पूर्व मिस नेपाल श्रृंखला खतिवडा सुर्खेतको पञ्चपुरी नगरपालिका–७ सान्ने पुग्नुभएको छ । महिनावारी स्वच्छता सम्बन्धी सचेतना फैलाउन उहाँ छाउपडी प्रथा रहेको सान्नेमा जानुभएको हो । उहाँले त्यहाँ स्थानीय महिलाहरुलाई भेला पारेर महिनावारी हुँदा घरबाहिर बस्नुहुँदैन भने सम्झाउनुभयो ।

उहाँले ‘महिनावारी बार्नु हुँदैन’ भनेर सम्झाइरहँदा स्थानीय रामबहादुर बुढा सोचमग्न हुनुहुन्थ्यो । आफ्ना श्रीमती, छोरी, दिदीबहिनीहरूलाई अहिलेसम्म छाउगोठमा बसालेकामा उहाँले पछुतो मान्नुभयो ।

‘सबैले पहिलादेखि नै मान्दै आएकाले हामीले पनि पछ्यायौं, देउता रिसाउँछन् भन्ने डर मनमा रहेकाले घरका महिलालाई घामको झुल्कै नपर्ने घरमा बसाल्यौं ।’ उहाँले भन्नुभयो ।

उहाँले अब महिनावारी भएका बेला बस्नका लागि बनाइएका छाउघर भत्काउने प्रण गर्नुभएको छ । ‘सहरकी बहिनी हाम्रो गाउँमा आएर यसरी सम्झाउनुभयो, अब छाउगोठ भत्काउँछु र घरका कसैलाई पनि त्यस्तो ठाउँमा बसाल्दिनँ ।’ उहाँले पूर्व मिस नेपाल सँग बाचा गर्नुभयो ।

पूर्व मिस नेपाल श्रृंखलाले महिनावारी भएको समयमा सरसफाइ र खानपानमा ध्यान दिनुपर्ने बताउनुभयो । खतिवडाले यो कुरा भनिरहँदा स्थानीय विमला बुढा आफू घरभन्दा टाढाको सानो कटेरामा बसेको र कटेरामा आफूलाई निकै असहज हुने बताउँदै हुनुहुन्थ्यो । ‘बहिनीको कुराले मलाई सोच्न बाध्य बनायो, संस्कारका नाममा आफ्नो ज्यान नै जोखिममा पारेका रहेछौं, अबदेखि छाउगोठ भत्काएर महिनावारी भएका बेला घरमै बस्छौं’ उहाँले पनि घरमै बस्ने वाचा गर्नुभयो ।

गाउँ पैसराकी शर्मिला देउवा खतिवडासँग गाउँका केही केटीहरूले पहिल्यैदेखि भने आफूहरूले समाज भाँड्ने कुरा जस्तो लागेर नभत्काएको सुनाउनुभयो । ‘अहिले हामी महिलाका लागि भनेका रहेछन् भन्ने बुझ्दै छु । अब कहिल्यै छाउगोठमा निसास्सिएर बस्दिन’ उहाँले अठोट गर्नुभयो ।

पूर्व मिस नेपाल खतिवडाले गाउँका महिलाले छाउगोठ भत्काएर घरमा बस्ने कुरालाई सकारात्मक रूपमा लिएको बताउनुभयो । ‘यहाँका किशोरी र महिलाले छाउगोठ भत्काउने अभियानमा साथ दिन्छौं भन्नुभएको छ ।’ गाउँका धामीले समेत आफ्नै घरबाट छाउगोठ भत्काउने अभियान सुरु गर्ने बताउनुभएको छ । यो अभियान सफल पार्न सबैको यस्तै साथको खाँचो छ ।’ उहाँले भन्नुभयो ।

खतिवडा अहिले छाउपडी प्रथाविरुद्धको अभियानमा क्रियाशील हुनुहुन्छ । छाउपडी व्याप्त गाउँमै पुगेर स्थानीय सरकार, महिला, किशोरी र प्रहरी लगायतसँग छलफल गर्ने गर्नुभएको छ ।

Advertisement