‘एन्टी हिरो’मा अनमोलसँग रोमान्स गर्दै जसिता गुरुङ

अभिनेता अनमोल केसीले होम प्रोडक्सनको नयाँ फिल्म ‘एन्टी हिरो’ मा अभिनेत्री जसिता गुरुङसँग रोमान्स गर्ने फाइनल भएको छ । गएको केही महिना अगाडि नै फिल्ममा जसिता हुने खबर बाहिरिएको थियो । तर, यो कुरालाई निर्माण टिमले अफवाह बताउँदै आएको थियो । बुधवार भने फिल्मका निर्माता भुवन केसी र अभिनेत्री जसिताबीच कागजी सम्झौता भएको छ ।

फिल्म ‘लिलिबिली’ बाट अभिनय करिअर सुरुवात गरेकी अभिनेत्री जसिताको पछिल्लो रिलिज फिल्म ‘लभ स्टेशन’ हो । यो फिल्म बक्सअफिसमा असफल भएपछि निराश भएकी उनले निर्देशक रेनशा वान्तवा राईको ‘आई एम ट्वान्टिवान’ साइन गरेर बसेको धेरै समय भैसकेको छ । तर, यो फिल्मको छायांकन हुन सकेको छैन । यसमा उनको जोडी अभिनेता धिरज मगरसँग बाँधिदैछ ।

काजल फिल्मस्को ब्यानरमा निर्माण हुने ‘एन्टी हिरो’ को छायांकन बैशाख १ गतेबाट सुरु हुने निर्माता भुवन केसीले जानकारी दिए । फिल्मका लागि लिड अभिनेता र अभिनेत्रीको टुंगो लागे पनि निर्देशक भने फाइनल भएका छैनन् । प्राप्त जानकारी अनुसार, फिल्मलाई एक भारतीय निर्देशकले निर्देशन गर्नेछन् । केही दिनमा निर्देशकसँग पनि कागजी सम्झौता हुने बुझिएको छ ।

फिल्ममा भुवन केसीले पनि अभिनय गर्दैछन् । फिल्ममा उनी नकारात्मक भूमिकामा देखिने बताइएको छ । फिल्म ‘मिस्टर नेपाली’ रिलिजको संघारमा उनले ‘एन्टी हिरो’ का लागि दाह्री समेत बढाएका थिए । तर, स्क्रिप्टमा समय लाग्ने भएपछि फिल्मको छायांकन पोस्टपोन्ड गरिएको थियो । पहिलो पटक पर्दामा अनमोल र जसिताको जोडी हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ ।

Advertisement