‘साङ्लो’को व्यापारले निकिताको आगामी यात्रामा ठूलो अर्थ राख्नेछ

ताजधारी मिस नेपालहरुले नेपाली फिल्ममा बलशाली उपस्थिति जनाउन सकेका छैनन् । मलिना जोशीदेखि सृष्टि श्रेष्ठसम्मले मिस नेपालको उपाधि जितेपछि नेपाली फिल्ममा प्रवेश गरे । तर, फिल्मी करिअर कसैको सुखद बन्न सकेन । यही यथार्थबीच सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले फिल्म ‘साङ्लो’ बाट अभिनयमा डेब्यू गर्दैछिन् । फिल्मका निर्देशक विराज भट्ट हुन् ।

यो फिल्मभन्दा अगाडि उनी ‘रानीमहल’ मा अनुबन्ध भएकी थिइन् । तर, निर्माता र निर्देशकबीच लफडा भएपछि फिल्मको आधा छायांकन पनि नसकिँदै रोकियो । अब, यो फिल्म नबन्ने बताइएको छ । पहिलो गाँसमै ढुंगा लागेपछि निकिता निराश भएकी थिइन् । केही समय अभिनय सिकेपछि नयाँ फिल्म गर्ने मनस्थितिमा रहँदा उनलाई अभिनेता विराजले ‘साङ्लो’ अफर गरेका थिए ।

सुरुमा उनी यो फिल्म नगर्ने सोचमा थिइन् । तर, स्क्रिप्ट सुनेपछि उनले नकार्न सकिनन् । यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा उनको जोडी अभिनेता विराजसँग बाँधिएको छ । फिल्मको ‘चरीले काफल टिप्यो’ बोलको गीतमा उनको नृत्य, हाउभाउ र एक्सप्रेसनलाई दर्शकले मन पराएका छन् । अब, फिल्ममा उनको अभिनय कस्तो होला भन्ने कौतुहलता धेरैमा छ ।

‘साङ्लो’ डेब्यू फिल्म भएका कारण यसको व्यापारले निकिताको आगामी यात्रामा ठूलो अर्थ राख्नेछन् । ‘चरीले काफल’ गीत हिट भएपछि केही दिनअघि फिल्मको नयाँ गीतको छायांकन गरिएको छ । गीतमा विराज र निकिताले डान्स गरेका छन् । काठमाडौंमा खिचिएको गीतको केही अचल तस्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । जसमा निकितालाई ‘हट एण्ड बोल्ड’ अवतारमा देख्न सकिन्छ ।

डान्सिङ नम्बरको यो गीतबाट निर्माण पक्षले ठूलो आश बोकेको छ । फिल्ममा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारीलगायतका कलाकारको पनि अभिनय छ । शिवम अधिकारीको लेखनमा रहेको फिल्ममा सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन र मानकृष्ण महर्जनको छायांकन छ ।

Advertisement