मेयरको तलब भत्ताबाट स्वयंसेविकालाई २१ थान साइकल वितरण

इनरुवा – इनरुवा नगरपालिका प्रमुख राजन मेहताले आफ्नो तलब भत्ताबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि साइकल उपलब्ध गराएका छन् ।

मेहताले इनरुवा ९ मा रहेको बबिया स्वास्थ्य चौकी मातहतका २० जना स्वयंसेविका र कार्यालय प्रयोजनकालागि थप एक सहित २१ थान साइकल वितरण गरेका हुन् । सामाजिक क्षेत्रमा अहोरात्र खटिने महिला स्वास्थ्यकर्मीहरुको योगदानको कदर गर्दै सम्मान स्वरुप साइकल वितरण गरेको नगर प्रमुख मेहताले बताए । आवश्यक अन्य सहयोग समेत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका मेयर मेहताले उपलब्ध गराइएका साइकलका कारण स्वयंसेविकाहरुले प्रदान गर्ने सेवा थप छिटो र छरितो हुने विश्वास समेत व्यक्त गरे ।

वितरित साइकलको बजार मूल्य प्रतिगोटा कम्तिमा ७ हजार पर्छ । २१ थान साइकल व्यक्तिगत तलब भत्ता जुटाई सहयोग उपलब्ध गराएका नगर प्रमुख मेहतालाई समेत स्वयंसेविकाहरुका तर्फबाट सामुहिक सम्मान गरिएको थियो । साइकल बितरण कार्यक्रममा वडाध्यक्षहरु वशिरमुद्धिन मन्सुरी, अञ्जनी पोखरेल, समाजसेवी मौलाना हारुन खान, बबिया स्वास्थ्य चौकी इन्चार्ज सन्तोष देव लगायतको उपस्थिति रहेको थियो ।

Advertisement