विप्लवको ‘थ्रेट’पछि भीआईपी र भीभीआईपी एरियामा सुरक्षा व्यवस्था कडा

काठमाडौँ – प्रतिबन्धित विप्लव समूहले बुधबार साँझ नागार्जुन र बालुवाटारमा एकै समयमा बम विस्फोट गराएपछि काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

गृह मन्त्रालयको ठाडो निर्देशनमा उपत्यकाका भीआईपी र भीभीआईपी बसोबास तथा आवतजावत गर्ने स्थानहरु ‘लोकेटेड’ गरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको प्रहरीले बताएको छ । बम विस्फोट लगत्तै गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए । बादलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका हुन् ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु तथा विभिन्न दलका नेताहरु बसोबास गर्ने स्थानहरुमा सुरक्षा व्यवस्था थप कडा पारिएको हो । माघ १ गते बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा विप्लव समूहले बम विस्फोट गराएको थियो । त्यस्तै सोही दिन ललिता निवास परिसरमै पनि कुकर बम विस्फोट भएको थियो ।

यी दुवै घटनाको जिम्मेवारी नेकपा विप्लव समूहले लिएको छ । सो समूहले राज्यको सम्पत्ति व्यक्तिले चरम रुपमा दुरुपयोग गरेको भन्दै सो प्रकरणमा जोडिएकाहरुलाई लक्षित कारबाही थालेको विप्लव निकट एक नेता बताउँछन् । प्रधानमन्त्री, प्रधान्यायाधीश र सभामुखलगायतको निवास रहेको बालुवाटार क्षेत्रमा विप्लव समूहका कार्यकर्ताले बम राखेपछि सुरक्षा चुनौती थपिएको महसुस गर्दै प्रहरीले बम विस्फोटको घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

एसएसपी सुवेदीका अनुसार मुख्य गेट छलेर तारबार गरेको ठाउँबाट उक्लिएर बालुवाटारस्थित ललिता निवास परिसरमा बम राखेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसएसपी सुवेदी भन्छन्, ‘ विप्लव समूहले थप आक्रमण गर्नसक्ने भन्दै बालुवाटरलगायतका स्थानहरुमा सुरक्षा सतर्कता बढाइएको छ ।’

विप्लव समूह अपराधिक सङ्गठन रहेको भन्दै सरकारले २०७५ फागुन २८ गते उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव समूहका एक हजारभन्दा बढी नेता÷कार्यकर्ता पक्राउ परिसकेका छन् ।

Advertisement