राप्रपाको र्‍यालीमा भएको प्रहरी हस्तक्षेपमा कांग्रेसको आपत्ति

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीको सोमबार भएको शान्तिपूर्ण र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

र्‍यालीका सहभागीलाईमात्र नभएर सडकमा आवत–जावत गर्ने सर्वसाधारणलाईसमेत प्रहरीले लाठीचार्ज गरेको भन्दै त्यसप्रति कांग्रेसले आपत्ति प्रकट गरेको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार जारी विज्ञप्तिमार्फत् स्वतन्त्र र शान्तिपूर्ण ढंगले आफ्नो माग राख्न पाउने नागरिकको संविधानप्रदत्त हक, अधिकारलाई खोस्ने कार्य गरेको आरोप लगाउँदै भर्त्सना गरेका छन् ।

‘कुनै पार्टीसँग हाम्रो विचारमा असहमत हुन सक्छ । तर, कसैको स्वतन्त्रतामाथि अंकुश लगाउने कार्यप्रति कांग्रेस सदैव विरोध गर्दछ । प्रदर्शनकोक्रममा प्रहरीको दमनबाट घाइते भएका व्यक्तिहरुको कांग्रेस संसदीय दल शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ’–विज्ञप्तिमा भनिएको छ । रासस

Advertisement