मुख्यमन्त्रीको फोटामा जुत्ता प्रहार गर्ने पक्राउ

जनकपुरधामको जिरोमाइलमा मुख्यमन्त्री, मन्त्री लगायतका फोटामा जुत्ता प्रहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश २ का विभिन्न मन्त्रालयका उपभोक्ता समितिमार्फत् भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै शुक्रबार जनकपुरधाममा प्रदर्शनसहित तस्वीरमा जुत्ता प्रहार गरेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

प्रदर्शन गरिरहेको उपभोक्ता समितिले मुख्यमन्त्री राउतदेखि अन्य मन्त्रीहरूको तस्वीरमा सार्वजनिक स्थलमै जुत्ता प्रहार गर्न लागेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश चौधरी र शंकर साहलाई तत्कालै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको छ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहको तस्वीरमा जुत्ता प्रहार गरेपछि प्रहरीले पक्राउ गरेको हो।

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत् वितरण गरिएका ८ सय ४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ। प्रदेश सरकारले बक्यौता रकम भुक्तानी नगरेको भन्दै केही दिनदेखि निरन्तररूपमा उपभोक्ता समिति आन्दोलनरत छन्। यसअघि उपभोक्ता समितिहरूले प्रदेशसभा घेराउ गरेर प्रदर्शन, पूर्वाधार विकास कार्यालयमा तालाबन्दी समेत गरेका थिए।

उपभोक्ताहरूको बक्यौता रकम भुक्तानीबारे मुख्यमन्त्री लालबाबु राउतको तर्फबाट सरकारले स्पष्ट धारणा ल्याउनुपर्ने माग गर्दै सभामुख सरोजकुमार यादवले जवाफ दिन प्रदेश सरकारलाई रुलिङसमेत गरेका थिए।

तर पनि सरकारले यस विषयमा केही बोल्न नसकेपछि प्रदेशसभा अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि अनिश्चितकालीनसम्मको लागि स्थगित गरिएको छ।

Advertisement